वीरगन्ज । पर्साको वीरगंज महानगरपालिका क्षेत्रमा आज साँझदेखि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले एक सूचना जारी गर्दै आज (सोमबार) साँझ ६ः०० बजेदेखि भोलि (मंगलबार) बिहान ८ः०० बजेसम्मका लागि कर्फ्यू लगाएका हुन्।
धार्मिक तथा सामुदायिक संवेदनशीलताका कारण उत्पन्न हुन सक्ने सम्भावित तनाव र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ।
कर्फ्यू अवधिभर कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा वा बैठक गर्न पाउने छैनन्।
प्रशासन कार्यालका अनुसार वीरगन्ज महानगरको पूर्व बाईपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र
दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यू लागू हुनेछ ।
सूचनामा कर्फ्यूको समयमा सुरक्षाकर्मीले ‘देख्ने वित्तिकै गोली हान्न सक्ने’ उल्लेख गर्दै अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन कडा निर्देशन दिइएको छ।
यदि कतै निस्कनै पर्ने भए नजिकको सुरक्षाकर्मीसँग समन्वय गर्न वा प्रहरीको १०० नम्बरमा फोन गरेर मात्र निस्कन अनुरोध गरिएको छ।
यद्यपि, कर्फ्यू अवधिभर अत्यावश्यक सेवाहरूमा भने केही सहजता प्रदान गरिएको छ। एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन र हवाई टिकट भएका यात्रुहरूलाई सुरक्षाकर्मीले आवतजावतमा सहजीकरण गर्ने सूचनामा उल्लेख छ।
स्थानीय प्रशासनले ूव्यवसायीक र सिर्जनशील प्रशासनस् विकास, समृद्धि र सुशासनू भन्ने नाराका साथ शान्ति सुरक्षा कायम राख्न सबै नगरवासीलाई सहयोगको अपिल समेत गरेको छ।
