वीरगन्ज । वीरगन्जस्थित हरिखेतान बहुमुखी क्याम्पसका विद्यार्थीहरूले सोमबार क्याम्पस व्यवस्थापन समितिको कदमविरुद्ध कडा विरोध प्रदर्शन गरेका छन्।
सामुदायिक क्याम्पसका रूपमा सञ्चालित संस्थालाई निजीकरण गर्न खोजिएको र अनावश्यक राजनीतिक हस्तक्षेप बढाएको आरोप लगाउँदै विद्यार्थीहरू आन्दोलित भएका हुन्।
प्रदर्शनकारी विद्यार्थीहरूले क्याम्पसको मूल गेटमा टायर बालेर चर्को नाराबाजी गर्नुका साथै आदर्शनगर लगायतका मुख्य सडकहरूमा जुलुस प्रदर्शन गरेका थिए।
लामो समयसम्म राजनीतिबाट मुक्त र शान्त शैक्षिक वातावरण रहेको यस क्याम्पसमा पछिल्लो समय व्यवस्थापन समितिको खिचातानीका कारण अशान्ति मच्चिएको विद्यार्थीहरूको गुनासो छ।
विशेषगरी दिउँसोको समयमा महिलाहरूलाई मात्र अध्यापन गराइने यस संस्थामा पछिल्ला घटनाक्रमले शैक्षिक वातावरण बिथोलिएको उनीहरूले बताएका छन्।
विवादको मुख्य जड क्याम्पस प्रमुखको नियुक्ति र बर्खास्तीमा देखिएको छ। दुई दशकभन्दा बढी समय नेतृत्व गरेका डा। भगवान प्रसाद यादवलाई हटाएर प्रेम प्रसाद खेतान नेतृत्वको व्यवस्थापन समितिले नवलकिशोर राय यादवलाई कार्यवाहक प्रमुख बनाएको थियो।
पछि उनै यादवलाई स्थायी प्रमुख बनाइए पनि केही समयमै फेरि उनलाई निलम्बन गरी अर्को व्यक्ति नियुक्त गरेपछि विवाद उत्कर्षमा पुगेको हो।
यसैबीच, वर्षौँसम्म विद्यार्थी राजनीति नभएको यस क्याम्पसमा पहिलो पटक नेपाल विद्यार्थी संघ (नेविसंघ) ले एकाइ समिति गठन गरेसँगै राजनीतिक सरगर्मी थप बढेको छ।
एकातिर व्यवस्थापन समितिको अपारदर्शी निर्णय र अर्कोतिर बढ्दो राजनीतिकरणका कारण क्याम्पसको भविष्यप्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

