काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको राजधानी नयाँदिल्ली जाँदैछन्। जेनजी आन्दोलनपछि एकीकृत समाजवादीसहितका दलहरू समेटेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछिको यो उनको पहिलो दिल्ली यात्रा हो।
तत्कालीन माओवादी केन्द्र र तत्कालीन एकीकृत समाजवादीलगायत दल निकट प्रवासी संगठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड दिल्ली जान लागेको उनको प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए।
“एक महिनाअघि नै तय भएको सन्देश सभा कार्यक्रम हो, त्यही कार्यक्रमलाई सम्बोधन गर्न उहाँ दिल्ली जान लाग्नुभएको हो,” आचार्यले भने।
सन्देश सभालाई सम्बोधन गरेपछि प्रचण्ड सोमबार नै स्वदेश फर्किने कार्यक्रम रहेको पनि आचार्यले जानकारी दिए। “आज साँझ गएर भोलि साँझ फर्किने कार्यक्रम छ,” उनले बताए।
फागुन २१ गते हुन लागेको निर्वाचनलाई ध्यानमा राख्दै प्रचण्डको दिल्ली यात्रालाई कतिपयले चासोका साथ हेरेका छन्। यद्यपि, दिल्ली बसाइका क्रममा सन्देश सभाबाहेक अन्य राजनीतिक भेटघाटका कार्यक्रम नरहेको प्रचण्डको सचिवालयले स्पष्ट पारेको छ।
