वीरगन्ज । वीरगंजमा अवैध सालको काठ र फर्निचरसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाका आधारमा वीरगंज महानगरपालिका वडा नं.२७ दरदर्वाबाट उक्त अवैध सामग्री बरामद गरेको हो।
पुस १६ गते दिउँसो करिब २ः३० बजे वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले चेकजाँचको क्रममा ना। २ च २८३५ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएको थियो।
उक्त गाडीमा अवैध रूपमा तस्करी गरी ल्याइएको सालको काठबाट निर्मित विभिन्न फर्निचरका सामग्रीहरू लोड गरिएको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं.४ बस्ने ४८ वर्षीय उपेन्द्र प्रसाद कुर्मी रहेका छन्।
उनको साथबाट सालको चौकोस, झ्याल, अधुरो बक्स प्लाई सेट, कुर्सी, डाइनिङ टेबल र किचेन र्याक गरी कुल २६.५ क्युविक फिट भन्दा बढी काठका सामग्रीहरू बरामद गरिएको छ।
पक्राउ परेका कुर्मीसहित बरामद गरिएको पिकअप गाडी र काठका सामग्रीहरूलाई थप कानुनी कारबाहीका लागि आज जिल्ला वन डिभिजन कार्यालय पर्सामा बुझाइएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।
