वीरगन्ज । पर्सा जिल्लाका विभिन्न स्थानमा रहेका एक हजार दलित तथा सीमान्तकृत बालबालिकालाई शैक्षिक तथा ट्युसन व्यवस्थापन सामग्री सहयोग गरिएको छ। काठमाडौँको बुढानीलकण्ठस्थित बोधिसत्त्व विहारको सहयोग, सामाजिक अभियान्ता डा। पियारतन महर्जनको सहजीकरण तथा पिसफोर दलितस फाउन्डेसन नेपालको सहकार्यमा उक्त सामग्री वितरण गरिएको हो।
पर्सा जिल्लामा दलित बालबालिकाको विद्यालय छोड्ने दर ९ड्रपआउट० उच्च रहेको र अभिभावकहरू प्रायः दैनिक ज्यालादारीमा निर्भर रहेकाले उनीहरूको शिक्षामा टेवा पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। बालबालिकालाई कापी(कलमको अभावमा विद्यालय जानबाट नरोकिन, गुणस्तरीय शिक्षा सुनिश्चित गर्न र उत्तीर्ण दरमा वृद्धि ल्याउन यो पहल गरिएको आयोजकले जनाएका छन्।
सहयोग कार्यक्रम अन्तर्गत सखुवाप्रसौनी गाउँपालिका–३ को कौवाबन मुसहर बस्ती र कटैया दलित बस्ती, वडा–५ को महुवन दलित बस्ती तथा वीरगन्ज महानगरपालिका–१९ केहुनिया विन्दवासनीको दलित बस्तीमा संचालित सामुदायिक निःशुल्क ट्युसन कक्षा र सिकाइ सुधार केन्द्रका बालबालिकालाई लक्षित गरिएको थियो।
वितरण गरिएका सामग्रीहरूमा एक हजार थान कापी, कलम, चाउचाउ, र भुइँमा बस्नका लागि एक हजार थान चटी (फोम) रहेका छन्। साथै, ट्युसन केन्द्रको व्यवस्थापनका लागि १२ वटा कुर्सी र ४ वटा टेबल समेत उपलब्ध गराइएको छ।
कार्यक्रमका प्रमुख अतिथि एवं बोधिसत्त्व विहारका अध्यक्ष डा. पियारतन महर्जनले बालबालिकाहरूलाई आफ्नै हातबाट सामग्री हस्तान्तरण गरे ।
लामो समयदेखि मानवीय सेवा, युवा विकास र शान्ति निर्माणमा सक्रिय डा. महर्जनले यसअघि पनि पर्सामा न्यानो कपडा, खाद्यान्न र राहत सामग्री वितरण गर्दै आएका थिए । उनले शिक्षा नै परिवर्तनको मूल आधार भएकोले विपन्न समुदायका बालबालिकालाई विद्यालयमा टिकाइराख्नु पर्नेमा जोड दिए ।
सामग्री पाएपछि कौवाबन मुसहर बस्तीकी खुसी कुमारी मुसहरले खुसी व्यक्त गर्दै सहयोगी संस्थाहरूलाई धन्यवाद दिइन्। त्यस्तै, अभिभावक राजेन्द्र रामले यस्ता सहयोगले बालबालिकाको विद्यालय जाने उत्साह बढ्ने र यसले शिक्षाको स्तर सुधार्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
पिसफोर दलितस फाउन्डेसन नेपालका अध्यक्ष मनोज रामको अध्यक्षतामा भएको उक्त कार्यक्रममा फाउन्डेसनका कार्यकारिणी निर्देशक पारमानन्द राम, सचिव दीपेन्द्र राम, सदस्यहरू सुरेन्द्र पासवान, सन्जोग राम र विनोद राम लगायतको सक्रिय सहभागिता रहेको थियो।
