बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डीसम्बन्धी अवैध आर्थिक कारोबारको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गरेको छ। उनलाई पार्टी कार्यक्रमका लागि कपिलवस्तु जाँदै गर्दा दाङको अमिलियाबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईबाट प्राप्त जाहेरीका आधारमा ४० वर्षीय शेखविरुद्ध अनुसन्धान अघि बढाइएको छ। प्रारम्भिक अनुसन्धानमा चार करोड ९२ लाख ८४ हजार २९६ रुपैयाँ बराबरको शङ्कास्पद हुन्डी कारोबार देखिएको छ।
केवाईसी विवरण र वास्तविक कारोबारबीच ठूलो अन्तर देखिएकाले मनी लाउन्ड्रिङको आशङ्का गरिएको छ। शेखमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
