धरान । धरानमा २० करोड १८ लाख रुपैयाँको लागतमा आधुनिक बसपार्क निर्माण सम्पन्न भएको सात महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन।
३७ बस, २४ कार र ७२ मोटरसाइकल पार्किङ क्षमता भएको यो अढाइतले संरचना हस्तान्तरण भइसके पनि जनप्रतिनिधिबीचको आन्तरिक विवादका कारण अलपत्र परेको हो।
सञ्चालनको तयारी भइरहँदा मेयर हर्क साम्पाङले असन्तुष्ट जग्गाधनीलाई ‘सेल्स प्लट’ बाट जग्गा दिने प्रस्ताव गरेपछि नयाँ विवाद चर्किएको छ। वडाध्यक्षहरूले यसको विरोध गरेपछि हाल अध्ययनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ।
मुआब्जा र जग्गासम्बन्धी विवाद अदालतसम्म पुगेकाले करोडौँको लगानीमा बनेको यो पूर्वाधार कहिले प्रयोगमा आउँछ भन्ने अझै निश्चित छैन।

