विराटनगर । मोरङ प्रहरीले विराटनगरस्थित दुईवटा क्यासिनोमा आइतबार मध्यराति छापा मारेर २० नेपाली नागरिकलाई पक्राउ गरेको छ। नेपालीलाई प्रवेश निषेध रहेको क्यासिनोमा लुकीछिपी जुवा खेलाइएको विशेष सूचनाका आधारमा प्रहरीले कारबाही गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालका अनुसार बिग होटलमा सञ्चालित ‘च्याम्पियन जोन क्यासिनो’ र रत्ना होटलको ‘गोल्डेन क्यासिनो’ मा एकैसाथ छापा मारिएको थियो। पक्राउ पर्नेमा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोनका व्यवस्थापक रामकृष्ण गौतमसहित १४ जना रत्ना होटलबाट र ६ जना बिग होटलबाट रहेका छन्।
प्रहरीले क्यासिनोभित्र नेपालीहरू निर्बाध रूपमा जुवा खेलिरहेको अवस्थामा फेला पारेको जनाएको छ। नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखी जुवा ऐनअन्तर्गत थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
