वीरगञ्ज । जिल्लास्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जाल पर्साले पर्सागढी नगरपालिका–३ झाबराकी पीडित कान्छी माया स्याङ्बोलाई आर्थिक सहयोग प्रदान गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित एक कार्यक्रमका बीच सञ्जालले ५० हजार ५ रुपैयाँको चेक हस्तान्तरण गरेको हो।
मंसिर २७ गते वीरगञ्जको आदर्शनगरस्थित मारवाडी सेवा संघको कोठामा मृत फेला परेकी सुनिता स्याङ्बोकी आमा कान्छी मायालाई जीविकोपार्जनमा राहत पुगोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको हो।
सञ्जालका संयोजक एवं पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठक, सदस्यहरू गोपाल केडिया र सुष्मा शर्माले वडा अध्यक्ष सुकमान तामाङको उपस्थितिमा सो सहयोग रकम हस्तान्तरण गर्नुभयो।
मृतक सुनिताका पिताको यसअघि नै मृत्यु भइसकेको र परिवारमा आमा तथा भाइ मात्र रहेकाले उनीहरूको आर्थिक अवस्था कमजोर रहेको छ। परिवारले सुनिताको हत्या भएको आशंका गर्दै दोषीलाई कारबाहीको माग गर्दै आएका छन्।
एसपी पाठकका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानले आत्महत्या देखाए पनि शव परीक्षणको प्रयोगशाला प्रतिवेदन (Post-mortem Report) आएपछि मात्र मृत्युको वास्तविक कारण यकिन हुनेछ।
