वीरगञ्ज । पर्सा प्रहरीले ट्रकमा लुकाइछिपाई ल्याउँदै गरेको ठुलो परिमाणको लागुऔषध चरेशसहित दुई जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले शनिबार साँझ वीरगञ्ज महानगरपालिका–२२, जगरनाथपुर ढाँटमा सवारी चेकजाँच गर्ने क्रममा उक्त चरेश बरामद गरेको हो।
मकवानपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ३ ख ५०९३ नम्बरको ट्रकलाई रोकेर खानतलासी गर्दा चालक बस्ने क्याबिनको माथिल्लो भागमा ‘फल्स क्याबिन’ बनाई लुकाइएको २४० केजी चरेश फेला परेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा मकवानपुरको थाहा नगरपालिका–११ बस्ने २९ वर्षीय चालक सरोज मोक्तान र सोही ठाउँका २१ वर्षीय नवराज लोलाई नियन्त्रणमा लिइएको छ। बरामद चरेश र ट्रकसहित पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए ।
