विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको राजविराज–९ का ३४ वर्षीय अमित यादव रहेका छन्।
आइतबार बिहान करिब ६:३० बजे कलेजको मुख्य गेटतर्फको भवनको पाँचौँ तलाबाट खसेका यादवलाई गम्भीर अवस्थामा सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उपचारका क्रममा बिहान ७:२५ बजे उनको मृत्यु भएको अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए।
मृतक यादव सोही अस्पतालमा एमबीबीएस इन्टर्न डाक्टरका रूपमा कार्यरत थिए। घटनाको कारण अझै खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय मोरङले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
