वीरगन्ज । भोजपुरी प्रतिष्ठान वीरगंजको आयोजनामा सम्पन्न सामुदायिक विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा सञ्जु कुमारी बैठा प्रथम भएकी छन्।
वीरगंज कलाकार समाज पर्साको सहकार्यमा शुक्रबार आयोजित यस प्रतिस्पर्धामा महानगरभित्रका १६ वटा सामुदायिक विद्यालयका ३४ जना विद्यार्थीले आफ्नो कला प्रदर्शन गरेका थिए।
प्रतियोगितामा श्री महानन्द प्र। उपाध्याय माध्यमिक विद्यालयका मनन महतोले द्वितीय र श्री द्वारदेवी माध्यमिक विद्यालयका सञ्जिव रामले तृतीय स्थान प्राप्त गरे।
विजेता विद्यार्थीहरूलाई वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नगद पुरस्कार, मेडल र कदर–पत्रद्वारा सम्मानित गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सिंहले भोजपुरी भाषा, कला र संस्कृतिको जगेर्नामा प्रतिष्ठानले गरेको कार्यको सराहना गरे । उनले आगामी दिनमा संस्थागत विकासका लागि विशेष सहयोग प्याकेज उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले बालबालिकाको सिर्जनात्मक क्षमता निखार्न यस्ता गतिविधि अपरिहार्य रहेको बताए ।
त्यस्तै शैक्षिक महाशाखा प्रमुख आनन्द लामिछाने र वरिष्ठ लेखक दिनेश गुप्ताले विद्यालयस्तरमै कला र साहित्यको अभ्यास गराउँदा नयाँ पुस्ता आफ्नो मौलिक संस्कृतिसँग जोडिने विश्वास व्यक्त गरे ।
प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन माधुरी महतोले गरेकी थिईन् ।
कार्यक्रममा कलाकार समाजका सचिव सञ्जय गिरी, संयोजक मुकेश महतो लगायत शिक्षक, अभिभावक र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
