वीरगन्ज । वीरगंज महानगरपालिका वडा नं.–१८ स्थित भवानीपुरमा आजदेखि बर्थिङ सेन्टर औपचारिक रूपमा सञ्चालनमा आएको छ। सुरक्षित मातृत्व सेवा प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्थापना गरिएको उक्त केन्द्रको महानगर प्रमुख राजेशमान सिंहले एक समारोहका बीच उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख सिंहले ग्रामीण भेगका बासिन्दालाई सहज र सुरक्षित प्रसूती सेवा उपलब्ध गराउन महानगरले प्राथमिकता दिएको बताए ।
उनले ग्रामीण क्षेत्रका गर्भवती महिलाले सामान्य प्रसूतीका लागि पनि शहर धाउनुपर्ने र राति एम्बुलेन्स खोज्दै भौंतारिनुपर्ने बाध्यता हटाउन गाउँमै यो सेवा सुरु गरिएको उल्लेख गरे । स्वास्थ्य संस्थामै प्रसूती गराउँदा मातृ तथा शिशु मृत्युदर घटाउन ठूलो सहयोग पुग्ने उनको विश्वास थियो।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले आवश्यक जनशक्ति र उपकरणको पूर्ण व्यवस्थापन गरेर मात्र सेन्टर सञ्चालनमा ल्याइएको जानकारी दिए ।
यसैगरी वडा अध्यक्ष उमाशंकर तिवारीले अब वडामै प्रसूती सेवा उपलब्ध हुने भएपछि स्थानीय नागरिकलाई ठूलो राहत मिलेको बताए । यसअघि भवानीपुर क्षेत्रका बासिन्दाले सुत्केरी व्यथा लागेपछि रातबिरात वीरगंजका अस्पताल पुग्नुपर्ने कठिन अवस्था थियो।
नयाँ सञ्चालनमा आएको यस बर्थिङ सेन्टरमा प्रि–डेलिभरी कक्ष, पोस्ट–डेलिभरी कक्ष, प्रयोगशाला, जाँच कक्ष र प्रशासनिक कक्ष सहितका आवश्यक पूर्वाधार निर्माण गरिएको छ।
महानगरपालिकाले यसअघि नै वडा नं.२१ लिपनीविर्ता र वडा नं। २८ बगहीमा बर्थिङ सेन्टर सञ्चालन गरिसकेको छ भने बगहीमा विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गरिसकेको छ।
महानगरले शहर र ग्रामीण क्षेत्रको स्वास्थ्य सेवामा सन्तुलन कायम गर्दै आफ्ना सेवाहरू गाउँसम्म पुर्याउने अभियानलाई तीव्रता दिएको छ।

