वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध गाँजाको ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका वडा नं.८ महाबिर टोल बस्ने वर्ष ३२ का भिम स्याङ्तान (चालक) र मकवानपुरगढी गाउँपालिका वडा नं. १ आँपटार बस्ने वर्ष ३८ का कुमार स्याङ्तान रहेका छन्।
सोमबार दिउँसो करिब ३ बजेको समयमा पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं.२ रंगपुरमा विशेष सूचनाका आधारमा प्रहरी टोलीले चेकजाँच गर्दा मनवाबाट रंगपुरतर्फ जाँदै गरेको बीएबी ९३९८ नम्बरको मारुती सुजुकी कार सहित दुईजनालाई नियन्त्रणमा लिएको थियो।
कारको रितपूर्वक खानतलासी गर्दा प्लास्टिकमा लुकाइ छिपाइ राखिएको १० पोकामा १०४ के.जी. ३२५ ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु कार्कीले जानकारी दिए । प्रहरीले बरामद लागु औषध र कारसहित कारमा सवार दुई जनालाई पनि नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान गरिरहेको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन्।

