जनकपुरधाम: प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर भगवान् सीता र रामको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाइँदैछ।
त्रेतायुगमा यसै दिन मर्यादा पुरुषोत्तम राम र जनकनन्दिनी सीताको शुभविवाह भएको सम्झनामा विशेषगरी मिथिलाको प्राचीन राजधानी जनकपुरधाम मा यस पर्वलाई भव्य विवाह महोत्सवका रूपमा मनाइन्छ।
विवाहको पौराणिक कथा रामायणमा उल्लेख भएअनुसार, मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखेको भगवान् शिवको धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो।
यसैको सम्झनामा मिथिलावासीले यो पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्। गोस्वामी तुलसीदासले रामायणमा यस विवाहको वर्णन गरेका छन्।
जनकपुरमा सप्ताहव्यापी महोत्सव जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महामहोत्सवको आज मुख्य दिन हो। यहाँ मिथिलाको संस्कृतिअनुसार विवाहका विभिन्न संस्कारहरू मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह विधिपूर्वक सम्पन्न गरिन्छन्।
महोत्सव मनाउने क्रममा पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा र झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष डोला सिंहासनमा राखी रङ्गभूमि मैदानमा पुर्याइन्छ।
त्यस्तै, जानकी मन्दिरबाट सीतालाई पनि विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ। रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता र रामलाई जानकी मन्दिरमा ल्याएर मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न गरिन्छ।
यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानका साथै सीमावर्ती भारतीय क्षेत्रका लाखौँ श्रद्धालु भक्तजनको सहभागिता हुने गर्दछ।
रङ्गभूमि मैदानमा वर र बधुपक्षबीच हुने हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको देख्न सकिन्छ।
पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ। धार्मिक विश्वास र पूजाआजा रामायणअनुसार, जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ।
सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको अदृश्य रूपमा सहभागिता हुने विश्वासले हर्षोल्लासका साथ प्रतीकात्मक जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन्।
श्रद्धालु भक्तजन बिहानैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्छन्। यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ। देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ।
उक्त महोत्सव पहिले एक महिनासम्म भव्य रूपमा मनाउने गरिएकामा हाल चार दिनमात्र मनाइन्छ। यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी मनाइँदैछ। आज विवाह गर्न साइत नचाहिने मान्यतासमेत रहेको छ।

