झापा । झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका एक ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाएको घटनामा मृत्यु भएको परिवारले जनाएको छ। शनिबार राति करिब साढे ११ बजे डिल्लीराम अधिकारीले घरको आगनमा पेट्रोल छर्की आगो लगाएका हुन्।
प्रहरीका अनुसार राति करिब १ बजे उनका काइँला छोरा भोगेन्द्र अधिकारीले बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय बुधबारेलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी नायब निरीक्षक (प्रनानी) चन्द्रबहादुर राउतको नेतृत्वमा खटिएको टोलीले घटनास्थल सुरक्षित गरेको हो।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय धुलाबारेबाट प्रनानी नकुलराज गौतमको नेतृत्वमा अर्को प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
परिवारका सदस्यहरूले डिल्लीरामको मृत्यु भइसकेको बताएका छन्। उनी केही समयदेखि डिप्रेसनको उपचार गराइरहेका थिए भने केही महिना अघि मात्र प्रोस्टेट सम्बन्धी शल्यक्रिया गराएका थिए। रासस
