हेटौँडा। मकवानपुरको राक्सिराङ गाउँपालिकामा गोली प्रहार गरी एक व्यक्तिको हत्या गरेको आरोपमा एक वृद्धलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाको २४ घण्टा नबित्दै फरार रहेका हत्या आरोपीलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार कार्तिक २८ गते बिहान करिब ९ः५२ बजे राक्सिराङ गाउँपालिका–१, कोलगैरी ठकुरीडाँडा बस्ने अन्दाजी ७५ वर्षीय इमान सिंह थोकरले सोही स्थानका अन्दाजी ६४ वर्षीय ठुले गोलेलाई गोली प्रहार गरी हत्या गरेका थिए। गोली लागेर ठुले गोलेको घटनास्थलमै मृत्यु भएको थियो।
घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटबाट खटिएको प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धानपश्चात फरार रहेका इमान सिंह थोकरको खोजी सुरु गरेको थियो।
प्रहरीले करिब अपरान्ह ४ः०० बजेको समयमा घटनास्थलबाट करिब १ किलोमिटर पूर्व कोलगैरीमा लुकीछिपी बसिरहेको अवस्थामा थोकरलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्ने थोकरको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल, दुई राउन्ड लाइभ गोली, एक थान गोलीको खोका र १९० ग्राम गन पाउडर जस्तो देखिने पदार्थ समेत बरामद गरेको छ।
प्रारम्भिक अनुसन्धानबाट पुरानो रिसिइबीका कारण थोकरले उक्त घटना घटाएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले जानकारी दिए ।
पक्राउ परेका थोकरमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही अगाडि बढाएको मकवानपुर प्रहरीले जनाएको छ।
