सिमरा। प्रहरीले बाराको जीतपुर सिमरा उप(महानगरपालिकाबाट भारी मात्रामा लागुऔषध ब्राउन सुगरसहित दुई जना महिलालाई नियन्त्रणमा लिएको छ।
प्रहरी नायव निरीक्षक दिपक कुमार बस्तेनको कमाण्डमा इलाका प्रहरी कार्यालय सिमरा, बारा र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज, पर्साबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शनिबार अपरान्ह ३ः४० बजेको समयमा उनीहरूलाई पक्राउ गरेको हो।
जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.५, लल्का पुलस्थित पथलैया तर्फ पैदल आइरहेकी शंकास्पद महिलाहरूलाई रोकी चेकजाँच गर्दा एक जना महिलाको साथबाट ४४ ग्राम ४०० मिलिग्राम सात पुरिया लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो बरामद भएको थियो।
पक्राउ पर्नेहरुमा पटेर्वा सुगौली गाउँपालिका ६ बस्ने प्रभु मुखियाकी श्रीमती अन्दाजी वर्ष ३५ की सुसिला देवी र पोखरिया नगरपालिका ७ बस्ने अजय मुखियाकी श्रीमती अन्दाजी वर्ष ३० की पुजा देवी रहेकी छिन् ।
पक्राउ परेकी सुशीलाको साथबाट ब्राउन सुगर बरामद भएको थियो। प्रहरीले बरामद गरिएको लागुऔषध र पक्राउ परेका दुवै महिलामाथि आवश्यक कानूनी प्रक्रिया अगाडी बढाएको बारा प्रहरीले जनाएको छ।
