धनुषा। धारिलो हतियार प्रहार गरी वृद्ध महिलाको हत्या गरेर सुन तथा चाँदीका गर–गहना लुटपाट गरी फरार भएकी एक महिलालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ।
धनुषा जिल्लाको हंसपुर नगरपालिका वडा नम्बर ७ नुवाखोर टोलमा कार्तिक २४ गते राती करिब ९ बजेको समयमा ६२ वर्षीया चन्द्रकला देवी दासलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। हत्यापश्चात अभियुक्तले मृतकले लगाएका गर(गहनाहरु लुटी लगेर फरार भएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा लुटपाटमा संलग्न महिलालाई पक्राउ गर्न सफल भएको हो। प्रहरीले पक्राउ परेकी अभियुक्तको साथबाट लुटेर लगेको गर–गहना तथा मृतकको हत्या गर्न प्रयोग गरिएको धारिलो हतियार समेत बरामद गरेको छ।
प्रहरीले पक्राउ परेकी महिलाको पहिचान भने खुलाएको छैन । उनलाई कर्तव्य ज्यान र लुटपाट सम्बन्धी मुद्दामा सम्मानित अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
