हेटौडा । आफूलाई सूर्य नेपाल प्रा.लि.का कर्मचारी बताउँदै विभिन्न व्यवसायीलाई लाखौँ रुपैयाँ बराबरको सामान ठगी गरेको आरोपमा तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरूले हेटौँडामा रहेका विभिन्न व्यवसायीहरूलाई अनलाइनमार्फत सामान अर्डर गर्ने र भुक्तानीका लागि नक्कली बैंक भौचर ह्वाट्सएपमार्फत पठाएर ठगी गर्ने गरेको पाइएको छ। ठगीमा संलग्नहरूले रु. १७ लाख ८७ हजार बराबरको सामान वीरगञ्जतर्फ डेलिभरी गर्न लगाएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.–२४ बस्ने वर्ष २८ का राजु सर्राफ। वडा नं. १९ बस्ने वर्ष ४० का रामराउत कुर्मी, वडा नं. ३२ टेडा घर भई हाल मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नं. १० टिसिएनरोडमा डेरा लिई बस्ने वर्ष ४० का नितेश कुमार केशरी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका यी तीनै जनालाई मकवानपुर जिल्ला अदालत, हेटौँडाबाट म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको छ।
