वीरगञ्ज। पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिकाबाट ठूलो परिमाणको लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं.–३२, चोर्नी बस्ने ७१ वर्षीय खेदु महतो धानुक रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले दिएको जानकारी अनुसार, धानुकले आफ्नै किराना पसलको आवरणमा लागु औषध गाँजाको कारोबार गरिरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली खटाइएको थियो।
कार्तिक २३ गते दिउँसो करिब २ बजेको समयमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले धानुकको पसलमा कानूनी रित पुर्याएर खानतलासी गरेको थियो।
खानतलासीका क्रममा पसलको पछाडिपट्टि रहेको कोठामा निलो रङ्गको प्लाष्टिकको ड्रममा लुकाइछिपाइ राखेको ८ किलोग्राम लागु औषध गाँजा बरामद भएको हो।
प्रहरीले धानुकलाई तत्काल नियन्त्रणमा लिई उनीविरुद्ध ‘लागु औषध सम्बन्धी कसूर मा मुद्दा दर्ता गरेको छ। उनलाई पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
