वीरगन्ज । मधेस प्रदेशमा देखिएको राजनीतिक संकट थप पेचिलो बन्दै गएको छ । लोसपाका जितेन्द्र सोनलले शनिबार सदनबाटै राजिनामाको घोषणा गरेका थिए ।
शनिबार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई राजिनामा बुझाएर स्वीकृत भएपछि प्रदेश प्रमुखको भूमिका शंकास्पद देखिएपछि एमाले बाहेकका दलहरु खबरदारी गर्न एकमत भएका छन् ।
नेकपा एमालले संविधानको धारा १६८ को उपधारा (२) को प्रकृया समाप्त भएकोले अब धारा (३) बमोजिम संसदमा सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठन गर्नुपर्ने माग अघि सारेको छ ।
तर, जितेन्द्र सोनलले विश्वासको मत नलिईकन राजिनामा दिएपछि पुनः धारा (२) बाटै सरकार गठन गर्नुपर्ने माग गरेपछि प्रदेशको राजनीतिक संकट गहिरिदै गएको हो ।
प्रदेश प्रमुख भण्डारीले मध्यरातमा एमालेको नेतृत्वमा सरकार गठन गर्न आह्वान गर्नसक्ने सम्भावना रहेकोले एमाले बाहेकका दलहरु खबरदारी गर्न एकमत भएको नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता तथा परिवर्तित नेपाली कम्युनिष्ट पार्टीका नेता भरत साहले जानकारी दिए ।
अहिले दलहरु प्रदेश प्रमुखको कार्यालय अगाडि नै जम्मा भएर बसेको उनले बताए । प्रदेश प्रमुखले एमालेको नेतृत्वमा मध्यरातमा सरकार गठन आह्वान गर्ने सूचना पाएपछि एमाले बाहेकका दलहरु खबरदारी गर्न सहमत भएका हुन् ।
