जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल र नेपालका लागि बेलायती राजदूतावासको विकास कार्यक्रम प्रमुख पौलिन सिनन नेतृत्वको टोलीबीच विहीवार जनकपुरधाममा शिष्टाचार भेटघाट भएको छ । भेटका क्रममा दुई पक्षबीच विकास साझेदारी र सहकार्यका सम्भावित क्षेत्रबारे छलफल भएको छ ।
मुख्यमन्त्री सोनलले प्रदेश सरकारको प्राथमिकतामा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र रहेको बताए । उनले यी प्रमुख क्षेत्रहरूको समृद्धि हासिल गर्न विकास साझेदारहरूको सहयोग अपरिहार्य हुनेमा जोड दिए ।
मुख्यमन्त्री सोनलले प्रदेशको समग्र विकासका लागि बेलायती दूतावासजस्ता अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्न प्रदेश सरकार पूर्णरूपमा तयार रहेको स्पष्ट पारे ।
सो अवसरमा बेलायती टोलीकी प्रमुख सिननले प्रदेश सरकारका विकास प्रयासहरूमा दूतावासको तर्फबाट सहकार्य र समर्थनका लागि प्रतिबद्धता व्यक्त गरे । उनले भविष्यमा सम्भावित सहकार्यका क्षेत्रमा थप छलफल गर्न इच्छा व्यक्त गरे ।
भेटघाटमा प्रदेश सरकारका उच्च अधिकारीहरूका साथै बेलायती दूतावासका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।
