कलैया । बारा जिल्लाको सदरमुकाम कलैयामा चोरहरूको बिगबिगी बढेको छ । चोरको बिगबिगीले सरकारी कार्यालयकै सवारीसाधन पनि सुरक्षित रहेनन्।
बुधबार १२ गते राती करिब ९ः३५ बजे कलैया उपमहानगरपालिकाको एक मोटरसाइकल चोरी भएको छ । कलैया उपमहानगरपालिका वडा नं. १, पानिटंकी एरियास्थित एनसेल सेन्टर अफिसको घर सामुन्नेको गल्लीमा रहेको रोजगार सेवा केन्द्रका शाखा प्रमुख विवेक गुप्ताको घर अगाडि पार्किङ्ग गरेर राखिएको ना. १ ब ३५६५ नम्बरको कालो डेकल रेड रङ्गको बजाज पल्सर १५० सीसी मोटरसाइकल चोरी भएको हो।
उक्त मोटरसाइकल कलैया उपमहानगरपालिका कार्यालयको नाममा दर्ता छ । जिल्लाको प्रमुख प्रशासनिक केन्द्र जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालयकै नजिक क्षेत्रबाट चोरीको घटना निरन्तर बढ्दा पनि नियन्त्रण हुन नसक्नुले आम नागरिकमा ठूलो निराशा छाएको छ।
स्थानीयहरूले जिल्लाको सुरक्षा व्यवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै, यति संवेदनशील क्षेत्रमा पनि सरकारी सम्पत्ति चोरी हुनुले सुरक्षा निकायको कार्यक्षमतामाथि नै सन्देह पैदा गरेको बताएका छन्। चोरीको बढ्दो शृङ्खलाका कारण कलैयावासी त्रसित बनेका छन्।
जिल्ला प्रशासन र प्रहरी कार्यालय यति नजिकै हुँदा पनि चोरहरूको मनोबल बढेको छ। अब जनताको सम्पत्ति कसरी सुरक्षित हुन्छ भनदै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। स्थानीय प्रशासनले चोरी नियन्त्रण गर्न र नागरिकलाई सुरक्षित महसुस गराउन तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग स्थानीयले गरेका छन्।
