वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले गत भाद्र २३ गतेको राजनीतिक हस्तक्षेपको क्रममा शहादत प्राप्त गरेका ’जेन्जी शहीद’ हरूको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ।
बिहीबार साँझ वीरगञ्जको घण्टाघरमा आयोजित कार्यक्रममा मैनबत्ती बालेर र मौनधारण गरेर शहीदहरूप्रति श्रद्धा व्यक्त गरिएको थियो।
श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै रास्वपा पर्साका सभापति हरी पन्तले भाद्र २३ गते जेन्जी पुस्ताका युवाहरूले ४८ घण्टासम्म गरेको अर्थपूर्ण राजनीतिक हस्तक्षेपमा तत्कालीन सरकारले ’बर्बर र निर्मम दमन’ गर्दा वीर युवाहरूले शहादत प्राप्त गरेको आज एक महिना पुगेको बताए । उनले ती वीर शहीदहरूको सम्झना र सम्मानमा सभा आयोजना गरिएको जानकारी दिए।
सभापति पन्तले ती ’निर्दोष भाइबहिनीहरूको हत्यामा संलग्नलाई यथाशीघ्र कारबाही गरी शहीदहरूको सम्मान गर्न’ वर्तमान सरकारसँग जोडदार माग गरेका छन्।
श्रद्धाञ्जली सभामा रास्वपाका केन्द्रीय सदस्य नन्दन यादव, क्षेत्रीय सभापतिहरू जितेन्द्र मिश्रा, राम आर्या, चन्दन यादव, कृष्णा पासवान, दिपराज पटेल, दिलीप कुर्मी लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
