वीरगन्ज । गत असोज १४ गते वीरगञ्जमा २० वर्षीय शिवम साह कानू (गोल्डेन) को कर्तव्य गरी हत्या गरेको घटनामा संलग्न भई फरार रहेका थप एक जना बालकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक किशोर लम्सालले असोज २१ गते ती बालकलाई पक्राउ गरिएको जानकारी दिए ।
पर्साको वीरगञ्ज महानगरपालिका–१० बस्ने तथा बारा परवानीपुर–९ का स्थायी बासिन्दा गोल्डेन भन्ने शिवम साह कानू असोज १४ गते गहवामाईको मेला हेर्न जान्छु भनी घरबाट निस्केका थिए। सोही दिन राति करिब ११ः३० बजे ’खुनी दरिन्दे समूह’ले उनको कर्तव्य गरी हत्या गरेको थियो।
प्रहरीका अनुसार पक्राउ पर्ने बालकको नामथर वतन परिवर्तित गरी ३४ जिल्ला २०८२÷०८३ (रामगढवा–१) बस्ने उल्लेख गरिएको छ । उनी घटना पश्चात फरार रहेका थिए र हाल कानूनको विवादमा परेका बालक (मुख्य आरोपी) को रुपमा रहेका प्रहरीको भनाई छ ।
पक्राउ परेका बालकलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ। सम्मानित पर्सा जिल्ला अदालतबाट अनुसन्धानका लागि ४ (चार) दिनको म्याद थप अनुमति लिइएको प्रहरी नायव उपरीक्षक लम्सालले बताए ।
यससँगै हत्या घटनामा संलग्न आरोपमा पक्राउ पर्नेको सङ्ख्या ७ पुगेको छ। थप अनुसन्धान कार्य तीव्र गतिमा भइरहेको प्रहरीले जनाएको छ ।
