ठोरी। पर्साको ठोरी गाउँपालिकामा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाअन्तर्गत जग्गा नापजाँच कार्यको औपचारिक शुभारम्भ भएको छ।
सोमबार एक कार्यक्रमका बीच भूमि समस्या समाधान आयोग जिल्ला समिति पर्साका अध्यक्ष तबरेज अहमदले नापजाँच मेसिनको बटन अन गरी नापजाँच कार्यको शुभारम्भ गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अहमदले भूमिहीन समस्यालाई केवल जमिनको मात्र नभएर नागरिकको मौलिक हक, समानताको हक र सामाजिक न्यायको हकका रूपमा लिनुपर्नेमा जोड दिए। उनले जनताको अधिकार सुनिश्चित गर्नु राज्यको मुख्य जिम्मेवारी भएको बताए।
अहमदले यसपालिको दशैंको टीकासँगै लालपुर्जा वितरण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। उनले भने,‘लालपुर्जा र टीका दुवैको रङ्ग रातो नै रहेकोले यसपालिको टीकासँगै लालपुर्जा पनि वितरण गरिनेछ।’
उनका अनुसार ठोरी गाउँपालिका वडा नम्बर ४ (साविकको निर्मलवस्ती गाविसको वडा नम्बर ६) का १२२० भूमिहिन सुकुम्वासी, भूमिहिन दलित र अव्यवस्थित बसोवास गर्नेहरुलाई लालपूर्जा वितरण गर्ने गरि नापजाँच सुरु गरिएको हो ।
ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष श्रेष्ठले ठोरीका भूमिहीन जनतालाई जग्गाको हक दिलाउन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा आयोगका विज्ञ सदस्य शिवनारायण राम, सदस्य–सचिव दीपक सिंह, वरिष्ठ नापी अधिकृत राजकुमार बि.क., नापी सर्वेक्षक मधुरेन्द्र झा लगायतका कर्मचारी र सेवाग्राहीहरूको बाक्लो उपस्थिति रहेको थियो।

