काठमाडौँ । जलस्रोत तथा सिँचाइ विभागका नवनियुक्त महानिर्देशक मित्र बरालले राष्ट्रिय गौरवका आयोजनाहरूको काम छिटो सम्पन्न गरी त्यसको प्रतिफल जनताले तत्काल उपभोग गर्न पाउनुपर्नेमा जोड दिएका छन्। उनले आइतबार पदभार ग्रहण गर्दै तराई–मधेशमा देखिएको सिँचाइको समस्यालाई ‘द्रुत मार्ग’ र दीर्घकालीन गरी दुई चरणमा समाधान गर्ने बताएका हुन्।
नवनियुक्त महानिर्देशक बरालले भने, ‘राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सकिएमा गरिबी निवारण र आर्थिक समृद्धिमा ठूलो टेवा पुग्छ।’ उनले तराई–मधेशका खेतहरू सिँचाइ अभावमा बाँझो रहेको उल्लेख गर्दै विभाग यसको समाधान खोज्न तयार रहेको बताए।
उनले मातहतका कर्मचारीहरूलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिँदै भने, ‘हामीसँग पर्याप्त पुँजी, दक्ष जनशक्ति, आधुनिक प्रविधि र यातायातको सुविधा छ। अब समयमै आयोजनाहरू सम्पन्न गर्नेबाहेक कुनै बहानाबाजी चल्ने छैन। ण्द्दज्ञड उनले ‘टिम स्पिरिट’ मा काम गरेर विभागको लक्ष्य पूरा गर्न सकिने र मन्त्रालयको अपेक्षा पनि पूरा हुने बताए।
बरालले आर्थिक वर्ष सुरु भएको आधा महिना बितिसक्दा पनि आयोजनाहरूको दुईवटा मात्रै बोलपत्र आएकोमा असन्तुष्टि जनाउँदै कर्मचारीहरूलाई काममा तीव्रता दिन आग्रह गरे। उनले विभागको लक्ष्य ुएकीकृत जलस्रोत व्यवस्थापनु मार्फत दिगो विकास हासिल गर्ने र सिँचाइ सुविधा उपलब्ध गराएर कृषि उत्पादन वृद्धि गर्ने रहेको बताए।
२०५१ सालदेखि जलस्रोत तथा सिँचाइ विभागमा काम गर्दै आएका बराल यस क्षेत्रका अनुभवी र विज्ञका रूपमा परिचित छन्। पद हस्तान्तरण कार्यक्रममा निवर्तमान महानिर्देशक सञ्जीव बरालले मित्र बरालको कार्यकालमा विभागले ऐतिहासिक काम गर्ने विश्वास व्यक्त गरे।

