काठमाडौँ । नेपालका राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले आफ्नो क्षेत्र विस्तार गर्दै नयाँ(नयाँ कृषि भूभागमा जलस्रोतको पहुँच पुऱ्याउन थालेका छन्।
जलस्रोत तथा सिँचाइ विभागको पछिल्लो तथ्यांक अनुसार भदौ मसान्तसम्ममा सिक्टा र बबई आयोजनामार्फत थप १५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पुगेको छ।
विभागका सूचना अधिकारी राम प्रसाद पौडेलका अनुसार बाँकेस्थित सिक्टा सिँचाइ आयोजनाले थप १०० हेक्टर जमिनमा सिँचाइ विस्तार गरेको छ।
आयोजनाले ५४ करोड ३ लाख रुपैयाँ लागत अनुमानका ४ वटा ठेक्का (बोलपत्र) आह्वान गरिसकेको छ भने आगामी पुस मसान्तसम्म २ अर्ब ४८ करोड ३० लाख रुपैयाँ बराबरका १७ वटा बोलपत्र आह्वान गरी थप ३०० हेक्टरमा सिँचाइ पुऱ्याउने लक्ष्य राखेको छ।
त्यसैगरी, बर्दियास्थित बबई सिँचाइ आयोजनाले भदौ मसान्तसम्म थप ५० हेक्टरमा सिँचाइ पुऱ्याएको छ र पुस मसान्तसम्म थप ३०० हेक्टर जमिन समेट्ने योजना बनाएको छ।
कैलालीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको भौतिक प्रगतिमा उल्लेख्य सुधार आएको छ। साउनमा ८ प्रतिशत रहेको भौतिक प्रगति भदौ मसान्तसम्म बढेर १५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५.२५ प्रतिशतबाट ११.४३ प्रतिशत पुगेको छ।
यस आयोजनाले १ अर्ब ३३ करोड ३५ लाख रुपैयाँ बराबरका ६ वटा बोलपत्र आह्वान गरिसकेको छ। पुस मसान्तसम्म २ अर्ब ३० करोड रुपैयाँका १२ वटा बोलपत्र आह्वान गर्ने, १.५ किलोमिटर तटबन्ध निर्माण गर्ने र १६० हेक्टर जग्गा उकास गर्ने लक्ष्य राखिएको छ।
अन्य बहुउद्देश्यीय आयोजनाहरूतर्फ भेरी बबई डाइभर्सन आयोजनाले भदौ मसान्तसम्म ३.४ प्रतिशत भौतिक र ३.४९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। यसले पुस मसान्तसम्म ६१ करोड रुपैयाँ बराबरका ४ वटा बोलपत्र आह्वान गर्ने तयारी गरेको छ।
यस्तै, सुनकोशी मरिन डाइभर्सन आयोजनाले आगामी पुस मसान्तसम्म ९७ हेक्टर जमिनमा लिफ्ट सिँचाइ सुविधा उपलब्ध गराउने र ६.१८ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गर्ने लक्ष्यका साथ काम अघि बढाएको छ।

