वीरगञ्ज । मधेस प्रदेशको एकमात्र राष्ट्रिय निकुञ्जको रूपमा रहेको पर्सा राष्ट्रिय निकुञ्जमा प्राकृतिक पानीको स्रोत सुक्न नदिन र जंगली जनावरका लागि घाँसे मैदान व्यवस्थित गरिदैछ ।
पर्यापर्यटनको ‘भर्जिन गन्तव्य’ मानिने पर्सा राष्ट्रिय निकुञ्जभित्र जैविक विविधता संरक्षणसँगै वन्यजन्तुका लागि आवश्यक प्राकृतिक जलस्रोत सुक्दै गएपछि पर्यापर्यटन (इको–टुरिज्म) को विकास, विस्तार र प्रवद्र्धन समेत प्रभावित भएको छ ।
त्यसैले निकुञ्ज क्षेत्रभित्र रहेका प्राकृतिक पोखरी, तालतलैया, घोल र नदीनालाहरू व्यवस्थित गरिरहेको छ । प्राकृतिक जलस्रोतलाई सुक्न नदिई पानीको अभाव हुन नदिन वन्यजन्तुलाई पानीको व्यावस्थापनका लागि राष्ट्रिय निकुञ्जले दुईवटा थप कृत्रिम पोखरी बनाउने तयारी गरेको निकुञ्जका संरक्षण अधिकृत मनोज मण्डलले बताए ।
निकुञ्ज क्षेत्रमा अहिले मुख्य पाँचवटा प्राकृतिक दहहरु छन् । वन्यजन्तुले सधै प्रयोग गर्ने प्रकाकृतिक दलहरु काली दह, कामिनी दह, लौकी दह, हल्खोरिया दह र मिनी हल्खोरिया दल गरी मुख्य पाँचवटा दहहरु हुन् ।
त्यस्तै साना ठूला गरि झण्डै ४१ वटा आरसीसी ढलान गरि निर्माण गरिएका पोखरीहरु रहेका छन् । अन्य थप दुईवटा ठूलो पोखरी निर्माणका लागि निकुञ्जले तयारी गरेको संरक्षण अधिकृत मण्डलको भनाई छ ।
पर्सा राष्ट्रिय निकुञ्ज भित्रका वन्यजन्तुहरुलाई आवश्यक घाँसे मैदान पनि व्यावस्थापन गरेर बढाउन लागेको छ । निकुञ्जमा रहेका मांशाहारी जंगली जनावरहरुलाई चाहिने आवश्यक आहार उत्पादन वृद्धिका लागि घाँसे मैदान अति आवश्यक रहेकोले पहिले देखि रहेका घाँसे मैदानहरुलाई व्यवस्थित बनाएर झण्डै ३०० हेक्टर क्षेत्रफल घाँसे मैदान व्यवस्थित गर्न लागिएको छ ।
संरक्षण अधिकृत मण्डलले भने, ‘मांशाहारी जनावरका लागि पनि आहारा पु-याउनका लागि साकाहारी जनावरको संख्या बढाउनुपर्ने हुन्छ । पूरानो घाँस खादैनन् । नयाँ टूसा पलाएको घाँस बढी मन पराउछन् ।
त्यसैले साकाहारी जनावरहरुले खाने घाँसे मैदान बढाउन सकियो भने उनीहरुले स्वस्थ आहार खान पाउछन् र संख्या वृद्धिमा सहयोग पुग्छ । जसले गर्दा मांसाहारी जनावहरुले पनि शिकार गर्न पाउछन् । यसले एउटा जीवनचक्रलाई पनि सन्तुलनमा ल्याउन सहयोग पुग्छ ।’
घाँसे मैदान र पानीको प्राकृतिक स्रोत संरक्षण गर्न सकिए जंगली जनावरहरु निकुञ्ज भित्रै बस्ने र अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पनि आकर्षित गर्न सकिने निकुञ्जको भनाई छ ।
प्राकृतिक जलस्रोतकै अभावले निकुञ्जका जंगली जनावहरुलाई निकुञ्ज बाहिर मानववस्तीमा जानबाट रोक्नका लागि कृत्रिम पोखरीहरुको निर्माण गर्न लागिएको हो ।



