वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जको एक क्यासिनोमा मध्यराति छापा मारेर जुवा खेलीरहेका नेपाली र क्यासिनाको कर्मचारी सहित १२ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बीरगञ्ज महानगरपालिका वडा नं.१० लोहारपट्टी चोकस्थित फच्र्युन सिटी गेमिङ क्लब प्रालि नामको (क्यासिनो) बाट उनीहरूलाई पक्राउ गरिएको हो।
नेपाली नागरिकहरूलाई क्यासिनोभित्र प्रवेश गराई जुवा खेलाइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार राति करिब ११ः५० बजे छापा मारेको थियो। छापा मार्ने क्रममा जुवा खेलिरहेको र खेलाइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जुवा खेल्ने कार्यमा संलग्न पर्सा बीरगञ्जका ६२ वर्षीय विजय अग्रवाल, ३० वर्षीय सन्तोष कुमार यादव, २४ वर्षीय अनुराग कुमार, पर्सागढीका २६ वर्षीय दिनेश साह र ४८ वर्षीय दीपक साह पक्राउ परेका छन्।
त्यसैगरी बारा कलैयाका ४० वर्षीय नरेश प्रसाद, काभ्रे महाभारतका ४७ वर्षीय गुन्जमान मोक्तान, सिन्धुली मरिनका २७ वर्षीय बिनोद कुमार लो र काठमाडौं साँखुका ४० वर्षीय राजेश श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी नेपालीलाई क्यासिनोभित्र प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न बैतडी दोगडाकेदारका ५४ वर्षीय तिलक प्रसाद भट्ट, पर्सा बीरगञ्जका ३७ वर्षीय प्रभु साह तुरहा र सिरहा धनगढीमाईका ४६ वर्षीय दीपक राज पराजुलीलाई पनि पक्राउ गरिएको छ।
पक्राउ परेका सबै १२ जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी चक्र बहादुर मल्लले जानकारी दिए ।



