वीरगन्ज । देशको मुख्य आर्थिक तथा औद्योगिक नगरीका रूपमा परिचित वीरगन्जको अर्थतन्त्रलाई यस वर्षको चाडपर्वमा साना तथा आंशिक व्यापारले मात्रै चलायमान बनाएको छ।
विगतका विभिन्न आन्दोलन, विवाद र मुख्य गरी खुला सीमाका कारण स्थानीय बजार प्रभावित हुँदै आएकोमा यस पटक चाडपर्वका बेला पनि बजारमा अपेक्षाकृत चहलपहल देखिन सकेन।
सीमावर्ती भारतीय सहर रक्सोलमा दैनिक उपभोग्य वस्तुदेखि अन्य सामानहरू सस्तोमा पाइने भएकाले नेपाली उपभोक्ताहरू किनमेलका लागि उतै जाने गर्दा वीरगन्जका मुख्य बजारहरू सुनसान प्रायः बनेका हुन्।
यसका साथै मुख्य सडक विस्तारका क्रममा सटर पसलहरू भत्काइएपछि व्यापारीहरू तितरबितर भएका र नियमित ग्राहकहरू अलमलिएका कारण पनि व्यापारमा प्रत्यक्ष असर परेको छ।
सडक विस्तारपछि व्यापारीहरू छरिए पनि घण्टाघर उत्तरतर्फ रहेको हङकङ बजार र सस्तोमा रेडिमेड कपडा पाइने मिनी मार्केटहरूमा भने ग्राहकको सामान्य भीड देखिएको वीरगन्ज सिटी बजारका सञ्चालक पिन्टु रौनियारले बताए।
उनका अनुसार भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशुलीमा आएको बाढी(पहिरोले उत्तरी नाका अवरुद्ध भई चीनबाट हुने आयात प्रभावित भए पनि नेपालमा रेडिमेड कपडाको मूल्यमा खासै वृद्धि भएको छैन।
आयातकर्ताहरूले काठमाडौंमै कपडा थानमा ल्याएर गार्मेन्टमा सिलाई गरी बजारमा पठाउने गरेको र एक वर्षअघि नै भण्डारण गरिएका सामान चाडपर्वमा बिक्रीमा ल्याइएकाले मूल्य स्थिर रहेको रौनियारको भनाइ छ।
यद्यपि, भारतबाट भन्सार नछली भित्रिने सामानका कारण वैधानिक रूपमा ल्याइएका सामानले प्रतिस्पर्धा गर्न नसक्दा व्यापार घटेको व्यापारीहरूको गुनासो छ।
ठूला कारोबार सुस्ताए पनि लक्ष्मीपूजा र छठ पर्वका लागि चाहिने माटोका भाँडा, केराका थाम, चोयाका सामग्री र कृषि उपजको कारोबारले भने बजारलाई केही राहत दिएको छ।
नेपाल कुम्हाल समाजका जिल्ला अध्यक्ष चन्द्रशेखर पडितका अनुसार तिहारमा करिब दुई सय व्यापारीले माटोका दियो तथा कलश बिक्री गर्दा २५ लाख रुपैयाँ बराबरको कारोबार गरेका छन्।
छठ पर्वका अवसरमा हात्ती, सुरी, दियो र कलशको बिक्रीबाट थप ४० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ। छठ पर्व नजिकिएसँगै उखु, सुथनी, अदुवा, मूला, कागती जस्ता स्थानीय कृषि उपजका साथै चोयाबाट बनेका दउरी र ढक्की खरिद गर्ने ग्राहकहरूको चहलपहल बढेको छ।
यद्यपि सडक विस्तारका कारण यस वर्ष घण्टाघर, पूर्व बसपार्क र रेलवे सडक क्षेत्रमा पहिलेको तुलनामा केराका थाम बिक्रीका लागि कम ल्याइएकाले यसको व्यापारमा समेत कमी आएको छ।
साना तथा मौसमी व्यवसायले बजारलाई केही टेवा पुर्याए पनि वीरगन्जमा ठूला व्यापारिक गतिविधि भने निरन्तर कमजोर बन्दै गएका छन्।
उद्योगी व्यवसायीहरूको छाता संगठन वीरगन्ज उद्योग वाणिज्य संघले सञ्चालन गर्दै आएको ‘दशैं मेला’ समेत ग्राहकको आकर्षण घट्दै गएपछि स्थगन गरिएको छ।
स्थानीय तथा घरेलु उद्योगबाट उत्पादित वस्तुहरूको प्रभावकारी बजार प्रवर्द्धन हुन नसक्दा मेलाप्रति सर्वसाधारणको चासो कम भएको र मेलाको प्रभावकारिता घटेको बताइएको छ।




