वीरगन्ज। यमपञ्चक अर्थात् तिहारको पाँचौं तथा अन्तिम दिन आज देशैभर हर्षोल्लासका साथ भाइटीका पर्व मनाइँदैछ।
दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै मखमली, सयपत्री र गोदावरीको माला, दुबो अनि सप्तरंगी टीका लगाइदिएर यो पवित्र पर्व मनाइरहेका छन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। समितिले टीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्किएर टीका लगाउनुपर्ने जनाएको छ।
सर्वसाधारणका लागि आज दिनभर नै टीका लगाउन कुनै बाधा नरहे पनि साइत खोज्नेहरूका लागि बिहान ११ः०७ बजेको समय उत्तम मानिएको छ।
आफ्ना दाजुभाइ वा दिदीबहिनी नहुनेहरूका लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गरिएको छ, जहाँ सर्वसाधारणले पूजाआजा गरी टीका ग्रहण गरिरहेका छन्।
यसका साथै पाँच दिनसम्म मनाइने यमपञ्चक तथा तिहार पर्वको आजैबाट औपचारिक समापन हुनेछ । तिहार सकिए लगत्तै तराई मधेसमा आस्था र विश्वासका साथ मनाईने पवित्रताको पर्व छठ शुरु हुन्छ ।
खासगरि तिहारको द्वुतीया तिथिपछिको तृतीया तिथिबाट छठ शुरु हुन्छ । छठका लागि सामान किनमेल गर्नेहरुको बजारमा चहलपहल रहेको छ ।
लक्ष्मीपूजादेखि नै बजारमा किनमेल गर्नेहरुको भीड देखिएको छ । दैनिक उपभोग्य वस्तु तथा पूजा सामग्री किन्नेहरुले बजार पसलमा भरिएको देखिन्छ ।




