वीरगन्ज । हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहार (यमपञ्चक) को पहिलो दिन आज देशैभर धनतेरस पर्व श्रद्धा र उत्साहका साथ मनाइँदै छ।
कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने यस पर्वमा नयाँ सुनचाँदीका गरगहना, सिक्का तथा तामा(पित्तलका धातुका भाँडाकुँडा किनेर घरमा भित्र्याउने र पूजा गर्ने धार्मिक परम्परा रहेको छ।
धनतेरसको अवसरमा आज बिहानैदेखि देशका प्रमुख सहरका मुख्य बजार, सुनचाँदी पसल तथा भाँडाकुँडाका पसलहरूमा ग्राहकको बाक्लो उपस्थिति र किनमेलको चहलपहल देखिएको छ।
विशेष गरी मधेस प्रदेशका विभिन्न जिल्लाका साथै काठमाडौँ उपत्यकालगायतका क्षेत्रमा यस पर्वलाई धनसम्पत्ति, आरोग्य र समृद्धिको प्रतीकका रूपमा लिई धूमधामका साथ मनाउने गरिन्छ।
धार्मिक मान्यता अनुसार धनतेरसका दिन नयाँ वस्तु, विशेष गरी धातुका सामान र खरेटो वा धनियाँ खरिद गरी पूजा गर्नाले घरमा लक्ष्मीको स्थिर वास हुने र सुख-समृद्धि कायम रहने विश्वास गरिन्छ।
आजै साँझ घरका मुख्य द्वार तथा झ्यालमा दीपावली गरी यमदीपदान गर्ने परम्परासमेत रहेको छ। यस वर्ष तिथिको घटबढका कारण कागपूजा र धन्वन्तरी जयन्ती भने भोलि शनिबार मनाइनेछ।
यस्तै, कात्तिक २२ गते कुकुर पूजा र लक्ष्मीपूजा, २३ गते गाईपूजा, २४ गते गोवर्धन पूजा तथा म्हपूजा र २५ गते भाइटीका मनाइने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

