रौतहट । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले रौतहटको बौधिमाई नगरपालिका–५ कोपवामा निर्माणाधीन इलाका प्रहरी कार्यालय भवनको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन् ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको रु. ३ करोड १२ लाख ६१ हजार ३ ५३ पैसा ६ लागतमा निर्माण भइरहेको सो आयोजनाको मन्त्री महतोले बुधबार स्थलगत निरीक्षण गरेका हुन् ।
१५ महिनाभित्र अर्थात् २०८३ असोज १७ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाअन्तर्गत कार्यालय ब्यारेक, भान्साघर, शौचालय, हावाघर, कम्पाउन्डवाल, सेप्टिक ट्याङ्की तथा सोक पिट निर्माण भइरहेका छन्।
आयोजनाको ठेकेदार कम्पनी जननी/फिचरल्याण्ड जेभीले निर्माण गरिरहेको छ । निरीक्षणका क्रममा मन्त्री महतोले निर्माणाधीन भवनको भौतिक प्रगति, निर्माणको गुणस्तर तथा आवश्यक पूर्वाधारबारे विस्तृत जानकारी लिएका छन् ।
स्थानीयस्तरमा प्रहरी सेवा प्रवाहलाई सहज बनाउन र शान्ति सुरक्षा सुदृढ तुल्याउन यस भवन निर्माणले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यसैक्रममा मन्त्री महतोले आगामी चाडपर्वलाई लक्षित गर्दै रौतहट र सर्लाही जिल्लाको समग्र शान्ति सुरक्षा अवस्थाबारे समेत सुरक्षा अधिकारीहरूसँग छलफल गरेका छन् ।
छलफलका क्रममा उनले चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, तस्करी तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रण गरी नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न उहाँले सुरक्षा निकायलाई थप सतर्क, सक्रिय र जिम्मेवार भएर पछाडि नहटी काम गर्न कडा निर्देशन दिए ।

