वीरगन्ज । पत्रकारलाई गाली गलौज तथा धाकधम्की दिएको कसुरमा उपस्थित गराउनुपर्ने विवादित व्यावसायी निरन्जन अग्रवाललाई प्रहरीले पक्राउ गर्न आनाकानी गरेको छ ।
समाचारको विषयलाई लिएर न्युज खोज तलाश डट कमका संचालक, नेपाल पत्रकार महासंघ मधेस प्रदेश परिषद सदस्य तथा प्रेस सेन्टर नेपाल मधेस प्रदेश सदस्य भरत सर्राफलाई फोनमार्फत गालीगलौज गर्दै कुटपिट र ज्यान मार्ने धम्की दिएको कसुरमा जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दर्ता भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट अग्रवाललाई उपस्थिति गराउने पत्र (एसटीएफ) प्रहरी चौकी आदर्शनगरमा पठाईएपनि चौकीका इन्चार्ज प्रहरी नायब निरिक्षक दिपेन्द्र टमटाले उनलाई पक्राउ गर्न आनाकानी गरेका छन् ।
पत्रकार सर्राफले दिएको निवेदनअनुसार गत असोज २९ गते वीरगञ्ज महानगरपालिका–१० निवासी ४८ वर्षीय निरञ्जन कुमार अग्रवालले फोन गरी अपशब्द प्रयोग गर्दै गालीगलौज गर्नुका साथै धम्की दिएका थिए।
आफूले तयार तथा सम्पादन गरेको समाचारप्रति असन्तुष्टि जनाउँदै अग्रवालले व्यक्तिगत रिसइबी साँधेर धम्कीपूर्ण अभिव्यक्ति दिएको सर्राफले भ्वाईस रेकर्ड नै सार्वजनिक गरेको छ।
विवादित व्यावसायी अग्रवालको व्यावसायिक सझेदारी मुद्दामा पत्रकारमाथि आक्रोशित भएका छन् । कहिले दोहोरो नागरिकता काण्ड, कहिले राजस्व छलिको आरोपमा पटक पटक प्रहरीको हिरासतमा पुगेका अग्रवाल पछिल्लो समय व्यावसायिक साझेदारसँगको विवादमा अदालतबाट निषेधाज्ञाको आदेश लिएर सुरक्षित हुन खोजेका छन् ।
तर, पत्रकारलाई गालीगलौज र धाकधम्की दिएको कसुरमा प्रहरीमा निवेदन परेपनि उनलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको हो । समाचारप्रतिको असन्तुष्टिका नाममा पत्रकारलाई धम्क्याउने र त्रसित पार्ने कार्य प्रेस स्वतन्त्रता तथा पत्रकारको व्यक्तिगत सुरक्षामाथिको गम्भीर चुनौती हो।
पत्रकार सर्राफलाई धम्की दिएको विरोधमा प्रेस सेन्टर नेपाल पर्सा र मधेस प्रदेश समितिले यसअघि नै विज्ञप्ति जारी गरेर उनलाई कारवाहीको दायरामा ल्याउन माग गरेपनि छुट्टै मुद्दामा निषेधाज्ञा लिएर बसेका अग्रवाललाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराउन प्रहरी असफल भएको छ ।
निरन्तरको गालीगलौज र धम्कीका कारण आफ्नो मानसिक शान्ति, सामाजिक प्रतिष्ठा र व्यक्तिगत सुरक्षामा असर परेको उल्लेख गर्दै पत्रकार भरत सर्राफले आफू असुरक्षित महसुस गरिरहेको जनाउदै मुलुकी अपराध संहिता, २०७४ को दफा ३०४ र ३०५ बमोजिम आवश्यक अनुसन्धान गरी कानुनअनुसार कारबाही गर्न माग सहितको निवेदन जिल्ला प्रहरी कार्यालयमा दिएका छन् ।
साथै, फोन कलको विवरण, अडियो रेकर्डिङलगायत उपलब्ध प्रमाणका आधारमा निष्पक्ष छानबिन गर्न र सम्भावित जोखिमबाट जोगाउन आवश्यक सुरक्षा तथा निरोधात्मक उपाय अपनाउन प्रहरीसँग आग्रह गरेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दर्ता भएर उनलाई उपस्थित गराउन निर्देशन भएपनि अहिलेसम्म अग्रवाललाई उपस्थित नगराएपछि प्रहरीको कामकारवाहीप्रति शंकाहरु उब्जिन थालेको छ ।
पीडित पत्रकार सर्राफका अनुसार जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले तोक आदेश गरेर अग्रवाललाई उपस्थित गराउने निर्देशन सहितका पत्र प्रहरी चौकी आदर्शनगरमा निवेदक स्वयंले पु¥याउँदापनि अहिलेसम्म अग्रवाललाई उपस्थित गराउन प्रहरीले चासो देखाएको छैन ।
विवादित व्यावसायी अग्रवालले व्यावसायिक साझेदारले दिएको निवेदन विरुद्ध अदालतबाट पक्राउ नगर्न निषेधाज्ञाको आदेश लिएको भएपनि फौजदारी अपराध संहिता, २०७४ अनुसार कानून अनूसार अनुसन्धान अगाडि बढाउनुपर्ने व्यक्तिलाई उन्मुक्ति दिने मनसायले प्रहरीले उनलाई नियन्त्रणमा नलिँदा प्रहरीको कामकारवाहीमाथि प्रश्न उठ्न थालेको छ ।
गलत गर्ने आफ्नै संगठनका प्रहरी अधिकृतहरुलाई समेत कारवाही गर्न पछि नहटेका पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईको इमान्दार र निष्ठावान छविमाथि विवादित व्यावसायी अग्रवालको चालबाजीले भने विश्वास घटाएको चर्चा हुन थालेको छ ।

