काठमाडौँ । प्राविधिक समस्याका कारण नेपाल प्रहरीले प्रदान गर्दै आएका विभिन्न अनलाइन सेवाहरू अवरुद्ध भएका छन्।
नेपाल प्रहरीका अनुसार प्राविधिक जटिलताका कारण नेपाल प्रहरीको आधिकारिक वेबसाइट, नेपाल प्रहरी मोबाइल एप, अनलाइन भर्ना छनौट प्रणाली तथा अनलाइन ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणालीको सेवा प्रभावित भएको हो।
सेवा अवरुद्ध भएसँगै अनलाइनमार्फत ट्राफिक जरिवाना भुक्तानी गर्न, प्रहरी भर्ना फाराम भरनाका साथै प्रहरी एप र वेबसाइटमार्फत सूचना तथा सेवा लिन चाहने सेवाग्राहीहरू प्रभावित भएका छन्।
समस्या समाधान गरी सेवा यथाशीघ्र सुचारु गर्न प्राविधिक टोली खटिसकेको प्रहरीले जनाएको छ। प्राविधिक समस्याका कारण सेवाग्राहीमा पर्न गएको असुविधाप्रति नेपाल प्रहरीले क्षमाप्रार्थी हुँदै धैर्यधारण गर्न अनुरोध गरेको छ।

