वीरगन्ज । नेपाली कम्युनिस्ट पार्टीले आफ्ना मधेस प्रदेश समिति सदस्य प्रभाकर गुप्तालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्दै निष्कासन गरेको छ।
पार्टी अनुशासन विपरित गतिविधि गरेको र पटक–पटक दिइएको सचेत गराउदा पनि जवाफदेहिता नदेखाएको भन्दै पार्टीको मधेस प्रदेश समितिले उनलाई निष्कासन गर्ने निर्णय गरेको हो।
मधेस प्रदेश समितिका संयोजक राजु खड्काद्वारा जारी विज्ञप्ति अनुसार, गुप्ताले विगत लामो समयदेखि पार्टीको हित विपरित सामाजिक सञ्जालमा असान्दर्भिक र अमर्यादित विषयवस्तु पोष्ट गर्दै आएका थिए।
पार्टी अनुशासन उल्लंघनको विषयमा सोधिएको मौखिक स्पष्टीकरणमा समेत चित्तबुझ्दो जवाफ नआएको र बारम्बार सचेत गराउँदा पनि सुधार नआएपछि निष्कासनको कदम चालिएको संयोजक खड्काले पत्रमार्फत स्पष्ट पारेका छन् ।
मिति २०८३ असोज १९ गतेदेखि नै लागू हुने गरी गुप्तालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको पार्टीले जानकारी दिएको छ। पार्टीबाट निष्काशित गुप्ताले रास्वपाका सदस्यता लिईसकेका छन् ।

