काठमाडौं । आम जनता पार्टी (आजपा) नेतृ रञ्जु साहले नेकपा (एमाले) ले सत्ता र सडक दुवैतिरबाट ‘तमासा’ देखाइरहेको आरोप लगाएकी छिन् । आजपाको केन्द्रीय कार्यालय कोटेश्वरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले एमालेको सडक प्रदर्शनलाई सत्ताको उन्मादको रूपमा चित्रण गरिन् ।
“असफल भइसकेको सरकार जनताका समस्या, माग र आवश्यकताप्रति बेखबर छ। तर, एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको नेतृत्व गर्दै सरकार र सडक दुवैतिरबाट तमासा देखाउँदै हिँडिरहेका छन्। यसले देश र जनताको चाहना र आवश्यकता पूरा हुँदैन,” उनले भनिन् ।
एमालेको भृकुटीमण्डपमा भएको युवा सेलिब्रेसनलाई लक्षित गर्दै उनले भनिन्, “एमालेको यो प्रदर्शन कसका विरुद्धमा हो? सडक र सत्ता दुवैतिर बसेर एमालेले यसरी तमासा देखाउन मिल्छ? कांग्रेससँगको सत्ता सहकार्यमा उकुसमुकुस छ भने सत्ता छोडेर सडकमै आए हुन्छ नि।”
एमालेको शक्ति प्रदर्शनले लोकतन्त्रकै खिल्ली उडाएको दाबी गर्दै नेतृ साहले वैदेशिक रोजगारीमा गएका युवाहरूका शव ल्याउन सरकारले कुनै पहल नगरेको आरोप लगाइन्। “विदेशमा महिनौंदेखि मरेका युवाहरूको शव ल्याउने आशामा बसेका परिवारलाई सरकारले केही गर्न सकेको छैन। तर, काठमाडौंमा युवा सेलिब्रेसनको नाममा नाटक गरिरहेको छ,” उनले भनिन्। युवाविनाको युवा सेलिब्रेसनको कुनै अर्थ नहुने उनको भनाइ थियो।