वीरगन्ज । वीरगन्जको दिलबन्दु पेट्रोल पम्प नजिकै रहेको उत्कृष्ट ट्रेड कन्सर्नमा लागेको आगलागी नियन्त्रणमा आएको छ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ बस्ने देवेन्द्र सत्यालले सञ्चालन गरेकाे उत्कृष्ट ट्रेड कन्सर्न टायर र एभरेस्ट लुब्रिकेन्ट प्रा.लि.को गोदाममा गएकने मध्यरात करिब १२:३० बजे अचानक आगलागी भएको थियो।
आगलागीको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, नेपाली सेनाको श्रीजंग गण तथा स्थानीय बासिन्दा उद्धार कार्यमा खटिएका थिए।
आगो निभाउन वीरगन्ज महानगरपालिकाका २ वटा, पोखरिया नगरपालिकाको १, पर्सागढी नगरपालिकाको १, नेपाल आर्मीको १, ड्राइपोर्ट वीरगन्जको १, जितपुर सिमरा उपमहानगरपालिकाको १ र कलैया उपमहानगरपालिकाको १ गरी जम्मा ८ वटा दमकल प्रयोग गरिएको थियो।
सुरक्षा निकाय, दमकल र स्थानीयको कडा प्रयासपछि शनिबार बिहान ०६:१० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको हो। आगलागीबाट मानवीय तथा चौपाया क्षति नभए पनि गोदाममा रहेका टायर, मबिल तथा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
घटनाबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लले जानकारी दिए। आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



