हेटौंडा । अवैध रूपमा थप सिट जडान गरी सञ्चालन गरिएका चार वटा विद्युतीय (EV) गाडीलाई मकवानपुर प्रहरीले कारबाही गरेको छ।
बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय भीमफेदी र ट्राफिक प्रहरीको संयुक्त टोलीले भीमफेदी गाउँपालिका वडा नं. ६ स्थित चेकप्वाइन्टमा चेकजाँच सञ्चालन गरेको थियो।
सो क्रममा सवारी दर्ता किताबमा उल्लेखित १४ सिट क्षमताभन्दा बढी (थप ४/४ वटा) सिट जडान गरी सञ्चालन गरिएका बा.प्र.०८-००१ ज ००४२, बा.प्र.०१-००२ ज ६२३९, बा.प्र.०१-००२ ज ७००६ र बा.प्र.०१-००२ ज ६९८१ नम्बरका EV गाडीहरू नियन्त्रणमा लिइएका हुन्।
सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा ४३ को उपदफा (१) विपरीत कार्य गरेको कसुरमा सोही ऐनको दफा १९४ को उपदफा (२) (ख) बमोजिम ती गाडीहरूलाई जनही १०,००० रुपैयाँका दरले कुल ४०,००० रुपैयाँ जरिवाना गरिएको छ।
साथै, स्थानीय सञ्चारकर्मीहरूको रोहबरमा अवैध रूपमा राखिएका थप सिटहरू निकालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



