वीरगन्ज: मुलुकको प्रमुख व्यापारिक नाका रहेको वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कार्तिक महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ।
कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीका अनुसार कार्तिक महिनामा १७ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। लक्ष्यको तुलनामा बढेर कार्तिक मसान्तसम्म १७ अर्ब ७९ करोड ६१ लाख रुपैयाँ राजस्व असुल भएको छ।
यो लक्ष्यको १०१.०९ प्रतिशत (अर्थात् १००.८९ प्रतिशत) हुन आउँछ। गत आर्थिक वर्षको सोही अवधिमा (कार्तिक मसान्तसम्म) भन्सारले १७ अर्ब ३३ करोड रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो।
यससँगै चालु आर्थिक वर्षको चार महिना (कार्तिक मसान्त) सम्मको समग्र प्रगति पनि सन्तोषजनक देखिएको छ। चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म कुल ८७ अर्ब ६३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा ८७ अर्ब ७२ करोड रुपैयाँ (९८.९६ प्रतिशत) राजस्व संकलन भएको छ।
लक्ष्य अनुसार चालू आर्थिक वर्षको बाँकी अवधिमा राजस्व असुल गर्नुपर्ने चुनौती भने कायमै रहेको छ। चालु आर्थिक वर्षको समग्र लक्ष्य भेट्न अब २ खर्ब ७ अर्ब २८ करोड रुपैयाँ राजस्व असुल गर्न बाँकी रहेको प्रमुख भन्सार प्रशासक मैनालीले बताए ।



