वीरगन्ज । पर्सा प्रहरीले ध्वनी प्रदूषण हुने गरी प्रधिस्पर्धा गरेर साउण्ड स्सिटम बजाउने दुई टोलका पाँचजनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं.१७ अलौस्थित तिलावे पुल नजिकै ध्वनि प्रदूषण हुने गरी उच्च आवाजमा डीजे बजाएर प्रतिस्पर्धा गरिरहेका पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
विशेष अनुसन्धानको क्रममा सोमबार बिहान करिब ११ः३० बजेको समयमा उनीहरूलाई नियन्त्रणमा लिई डीजे साउण्ड सिस्टमसमेत नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए ।
प्रवक्ता मल्लका अनुसार नियन्त्रणमा परेका व्यक्तिहरूमा वीरगञ्ज महानगरपालिका वडा नं. २५ कोहिनियाँ का रोशन पटेल र चन्दन पटेल, वडा नं. १० का पृथ्वी कार्की रहेका छन्।
त्यस्तै बाराको प्रसौनी गाउँपालिका वडा नं. ३ का दिनेश पटेल र वडा नं. २ का मञ्जुर हवारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरू सबैलाई वडा प्रहरी कार्यालय श्रीपुरमा राखी आवश्यक सोधपुछ तथा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरुलाई ध्वनी प्रदूषण गरेकोमा पक्राउ गर्न जाँदा प्रहरीसँग पनि अभद्र व्यवहार गरेको हुँदा अभद्र व्यहारमा मुद्दा चलाउने प्रवक्ता प्रहरी नायव उपरीक्षक मल्लले बताए ।



