पर्सा। अखिल क्रान्तिकारीका केन्द्रीय सचिव मिरोज अहमदले जेन्जी केवल एउटा उमेर समूह नभएर सोच, चेतना र परिवर्तनको बलियो आवाज भएको बताएका छन् ।
जेन्जी पर्साद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा शुभकामना व्यक्त गर्दै सचिव अहमदले अबका युवालाई भाषण र आश्वासनभन्दा पनि ठोस परिणाम, अवसर र सुशासन चाहिएको स्पष्ट पारे ।
अहमदले २०८२ सालको जेन्जी आन्दोलनमा युवाहरूले देखाएको आक्रोश, साहस र रूपान्तरणको चाहनाको स्मरण गरे । सो आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले घाइते तथा प्रभावित परिवारजनप्रति गहिरो सम्मान व्यक्त गरे ।
आफ्नो मन्तव्यका क्रममा उनले राजनीतिक र सामाजिक वृत्तमाथि गम्भीर प्रश्नहरू उठाएका छन् । ‘युवाले उठाएका प्रश्नहरूको जवाफ कति आयो ? भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र सार्वजनिक सेवा प्रवाहमा कति सुधार भयो ?’
भन्दै उनले केवल सरकार वा नेतृत्व परिवर्तन हुनु नै वास्तविक परिवर्तन नभएको टिप्पणी गरे । आम जनताको दैनिक जीवनमा सकारात्मक बदलाव आउनु नै साँचो परिवर्तन भएको उनको भनाइ थियो।
नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध रहे तापनि दलगत घेराभन्दा माथि उठेर एक युवाको हैसियतमा आफ्ना विचार प्रस्तुत गर्दै उहाँले राजनीतिक दलहरूलाई युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आग्रह गरे ।
युवाहरूलाई चुनावका बेला झण्डा बोक्ने वा नारा लगाउने माध्यम मात्र नबनाई नीति निर्माणदेखि नेतृत्व तहसम्म स्थान दिनुपर्नेमा उहाँले जोड दिए ।
यसैगरी, न्भल श् एबचकब का युवाहरूलाई सम्बोधन गर्दै सचिव अहमदले परिवर्तनको आवाजलाई विचार, अध्ययन, सङ्गठन र रचनात्मक कार्यसँग जोड्न सुझाव दिनुभयो। गलत कामको विरोध र राम्रो कामको समर्थन गर्दै निरन्तर खबरदारी गर्न उहाँले आह्वान गर्नुभयो।
विशेष गरी पर्सा र मधेश प्रदेशका युवाहरूका लागि शिक्षा, सीप, रोजगारी, उद्यमशीलता र स्थानीय विकास प्राथमिकतामा पर्नुपर्ने बताउँदै उनले युवाहरू भविष्य खोज्न विदेशिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने धारणा राखे ।
उनले कुनै पनि नागरिकलाई जात, धर्म, भाषा वा समुदायका आधारमा विभेद नहुने, सरकारी कार्यालयमा सम्मान पाइने तथा शिक्षा र स्वास्थ्यमा समान पहुँच भएको न्यायपूर्ण समाज निर्माणका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताए ।

