वीरगन्ज । वीरगंज महानगरपालिकाको आधिकारिक वेबसाइट प्राविधिक सुरक्षा कारणले गर्दा केही समयका लागि सार्वजनिक रूपमा बन्द गरिएको छ।
विश्वव्यापी रूपमा देखिएको पीएचपी (PHP) सम्बन्धी सुरक्षा जोखिम (Security Issue) का कारण www.birgunjmun.gov.np बन्द गरिएको महानगरपालिकाले जनाएको छ।
वेबसाइट हालको नयाँ PHP भर्सनसँग मेल नखाने (Incompatible) र आवश्यक सुरक्षा अपडेट नगरी चलाउँदा डाटा ह्याकिङ, डाटा चोरी तथा महत्त्वपूर्ण तथ्याङ्क नष्ट हुने उच्च जोखिम रहेकाले डाटा सुरक्षा सुनिश्चित नभएसम्मका लागि सेवा स्थगित गरिएको हो।
वेबसाइट बन्द रहेको अवधिभर महानगरपालिकाका सम्पूर्ण सूचना, जानकारी तथा सार्वजनिक सामग्रीहरू आधिकारिक फेसबुक पेज (https://www.facebook.com/birgunjmetropolitan/) मार्फत सार्वजनिक गरिने जनाएको छ।
महानगरपालिकाका प्रमुख प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख किर्ती राज सुवेदीले सम्पूर्ण नगरवासी, सेवाग्राही तथा सरोकारवालाहरूलाई सूचनाका लागि नियमित रूपमा आधिकारिक फेसबुक पेज हेर्न अनुरोध गरेकाे छ ।


