जनकपुरधाम । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले कानुन शिक्षाको विकास र पहुँचले नागरिकलाई सशक्त बनाउनुका साथै न्याय प्रणालीलाई थप सुदृढ बनाउने बताएका छन् ।
जनकपुरधाममा शनिबार आयोजना भएको मधेस कानून शिक्षा सम्मेलनको दोस्रो संस्करणको उद्घाटन गर्दै गृह, सञ्चार तथा कानून मन्त्री महतोले मधेश प्रदेशमा कानुन शिक्षाको प्रवर्द्धन र प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।
शिक्षामा कर्णाली प्रदेश भन्दा मात्रै अगाडि रहेको मधेस प्रदेशमा कानूनी शिक्षाको पहुँच पनि पुग्न नसकेको अवस्थामा आयोजना गरिएको सम्मेलनले कानूनी शिक्षाको पहुँच बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कानुन क्षेत्रका विज्ञ, प्राध्यापक, विद्यार्थी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सम्मेलनमा कानुन शिक्षाको वर्तमान अवस्था, चुनौती र भावी कार्यदिशाका विषयमा गहन छलफल गरिएको थियो।

