वीरगन्ज । जिल्ला विपद् पूर्व तयारी कमाण्ड पोष्टको बैठकले आगामी कार्तिक ११ गतेदेखि १४ गतेसम्म चक्रवात ‘अर्नव को प्रभावका कारण भारी वर्षा, चट्याङ र हावाहुरीको उच्च जोखिम रहेको भन्दै जिल्लाभर उच्च सतर्कता अपनाउने निर्णय गरेको छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिनलाई ध्यानमा राख्दै सुरक्षा निकायहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाका साथै सरकारी तथा गैरसरकारी संघसंस्थाहरूलाई २४ सै घण्टा तयारी अवस्थामा रहन निर्देशान दिइएको छ।
यसैगरी, पर्सा जिल्लाका सबै स्थानीय विपद् व्यवस्थापन समितिलाई तत्काल बैठक बसी आ(आफ्नो क्षेत्रमा सक्रिय हुन अनुरोध गरिएको छ।
स्थानीय तहहरूले जोखिमयुक्त क्षेत्रको पहिचान गरी उद्धार सामग्री तथा जनशक्ति तयार राख्ने, सुरक्षित आश्रयस्थलको व्यवस्थापन गर्ने र एम्बुलेन्स, दमकल एवं जेसीबी जस्ता साधनहरूलाई इन्धनसहित तयारी अवस्थामा राख्नुपर्नेछ।
कृषि क्षेत्रतर्फ, कार्तिक १२ गते अगाडि नै पाकेको धान काट्न र मियो लगाउन किसानहरूलाई आग्रह गरिएको छ। काटिसकेको धानलाई सुरक्षित स्थानमा भण्डारण गर्न र मौसम अनुकूल नभएसम्म थप धान नकाट्न विशेष सूचना जारी गर्ने निर्णय भएको छ।
चक्रवातको प्रभाव रहने मुख्य अवधि कार्तिक १२, १३ र १४ गते अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरिएको छ।
यस सम्बन्धी सार्वजनिक सूचनालाई एफएम रेडियो, सामाजिक सञ्जाल तथा स्थानीय संघसंस्थामार्फत व्यापक प्रचारप्रसार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको विपद व्यावस्थापन समितिको बैठकले निर्णय गरेको छ।

