वीरगन्ज । वीरगन्जस्थित महावीर एग्रोले भ्रमपूर्ण विज्ञापनमार्फत उपभोक्ता ठगी गरेको पुष्टि भएपछि स्थानीय प्रशासनले दुई लाख रुपैयाँ नगद जरिवाना गर्दै बजारमा पठाइएका सबै चामल फिर्ता ल्याउन कडा निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार महावीर एग्रोले आफ्नो ‘राजहंस’ ब्रान्डको २५ केजी चामलको बोरामा आधा केजी दाल सित्तैमा दिने विज्ञापन गरेको थियो। तर, बोरामा दालसहितको कुल तौल नै २५ केजी मात्र बनाएर उपभोक्तालाई भ्रममा पारी ठगी गरिरहेको फेला परेको हो।
उपभोक्ता ठगी भइरहेको विशेष सूचनाका आधारमा गत असोज १२ गते पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णजंग थापाको नेतृत्वमा गएको अनुगमन टोलीले एग्रोको गोदाममा छापा मारेको थियो।
छापा मार्ने क्रममा कैफियत भेटिएपछि टोलीले तत्काल ५० हजार रुपैयाँ जरिवाना गराई थप अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा कैफियत पूर्ण रूपमा पुष्टि भएपछि प्रशासनले थप जरिवानासहित बजारबाट चामल फिर्ता गराउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए।
प्रशासनले बजारमा पठाइएका सबै चामल तत्काल फिर्ता ल्याई नयाँ र सही प्याकिङ गरेर मात्र पुनः बिक्री(वितरण गर्न महावीर एग्रोलाई स्पष्ट निर्देशन दिएको छ।

