बीरगञ्ज। भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएका करिब २१ लाख रुपैयाँ बराबरका उपभोग्य तथा कपडाजन्य सामान पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
बीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित रजतजयन्ती चोकबाट असोज २६ गते अपराह्न करिब ४ः३० बजेको समयमा उक्त सामानहरू बरामद गरिएको हो।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गैरकानुनी रूपमा भित्र्याइएका शर्टिङ-सुटिङका कपडा, लेडिज कुर्ता–सुरवाल, बालबालिकाका पोसाक तथा विभिन्न खाद्यान्न सामग्रीहरू नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायय उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए ।
बरामद गरिएका सम्पूर्ण सामानहरूको अनुमानित मूल्य २० लाख ९० हजार ४ सय १० रुपैयाँ रहेको छ। नियन्त्रणमा लिइएका सामानहरूलाई आवश्यक कानुनी प्रक्रिया र कारबाहीका लागि बीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ।

