काठमाडौं— ‘दुखाइसँग हार होइन, रोगसँग संघर्ष गर्दै सपनाको यात्रालाई निरन्तरता दिऔँ’ भन्ने मूल सन्देशका साथ विश्व बाथ रोग दिवसको अवसरमा काठमाडौंमा बृहत् जनचेतनामूलक साइकल र्याली आयोजना गरिएको छ।
नक्सालस्थित रुमाथोलोजी एण्ड अर्थराइटिस सेन्टरको आयोजनामा सम्पन्न उक्त र्यालीले ‘ACHIEVE YOUR DREAM — आफ्नो सपना साकार गर्नुहोस्’ भन्ने नारालाई अघि सारेको छ। बाथ रोग भए पनि मानिसको लक्ष्य र सपनाहरू रोकिनु हुँदैन भन्ने सकारात्मक सन्देश प्रवाह गर्नु कार्यक्रमको मुख्य उद्देश्य थियो।
नक्सालबाट शुभारम्भ भएको साइकल र्याली बालुवाटार, महाराजगञ्ज, लाजिम्पाट, जमल, रत्नपार्क, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर र न्युरोड हुँदै ऐतिहासिक बसन्तपुर पुगेको थियो। बसन्तपुर क्षेत्रको परिक्रमापछि विभिन्न मार्ग भई पुनः नक्साल फर्किएर र्याली समापन भएको थियो।
र्यालीमा चिकित्सक, स्वास्थ्यकर्मी, सामाजिक क्षेत्रका व्यक्तित्व तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको समापन अवसरमा आयोजक संस्थाका अध्यक्ष, वरिष्ठ बाथ रोग विशेषज्ञ एवं क्लिनिकल इम्युनोलोजिस्ट डा. अरुण कुमार गुप्ताले सहभागी साइकलयात्रीहरूलाई मेडल, मायाको चिनो तथा सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै विशेषज्ञहरूले बाथ रोगका कारण जोर्नी दुख्ने, सुन्निने तथा शारीरिक गतिशीलतामा कठिनाइ आउने भएकाले समयमै रोगको पहिचान, विशेषज्ञ परामर्श र नियमित उपचार आवश्यक रहेको औँल्याए। नियमित शारीरिक गतिविधि, स्वस्थ जीवनशैली र बाथ रोगसम्बन्धी जनचेतनाले रोग नियन्त्रणमा सहयोग पुर्याउने धारणा व्यक्त गरे।
‘दुखाइ छ भन्दैमा सपना रोकिँदैन, बाथ रोग छ भन्दैमा जीवन रोकिँदैन’ भन्ने उद्घोषका साथ सम्पन्न र्यालीले बाथ रोगलाई जीवनको अन्त्यका रूपमा नभई उचित उपचार र उच्च आत्मविश्वासका साथ सामना गर्न सकिने स्वास्थ्य चुनौतीका रूपमा लिन सबैमा आह्वान गरेको छ।

